Ultimate magazine theme for WordPress.

रविन्द्र मिश्रको आलोचना गर्ने मौनालीको नारायणकाजीले सातो खाएपछि

75

पहिलो अपडेट / पौष २३, अर्घाखाँची

काठमाडौं : प्रतिनिधिसभा विघटनपछि विरोधमा छ नेकपाकै (हाल विभाजनको अवस्थामा रहेको) प्रचण्ड नेपाल समूह । दैनिक विभिन्न गतिविधि भइरहेको छन् । बुधबार इन्द्रेणी फुडल्याण्डमा समूहले विभिन्न राजनीतिक दलहरुसँग अन्तरक्रिया ग¥यो । आफ्नो आन्दोलनप्रति सद्भावका लागि छलफलको आयोजना गरिएको भनिए पनि प्रचण्ड नेपाल समूहले सोचेझैँ कार्यक्रम प्रभावकारी भएन ।

खचाखच भरिएको हलमा भइरहेको हल्लाले अगाडि बसेका नेतालाई झिझो लागिरहेको थियो। तर, भाषण गर्न विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र आएपछि भने एकाएक हल शान्त भयो । पूर्व पत्रकार समेत रहेका मिश्रले आक्रमक रुपमा भाषण गरे ।

उनले सुरुमै तत्कालीन परिस्थितिका लागि तीन विकल्प प्रस्तुत गरे। अदालतको निर्णय, सभामुखको भूमिका र आन्दोलनमात्रै विकल्प भएको उनले बताए । मिश्रले कांग्रेसको व्यवहारप्रति समेत आपत्ति जनाए ।

मिश्रभन्दा अघी चुनाव मान्य हुने र अदालतको निर्णय पर्खने विचार व्यक्त गरेका नेपाली कांग्रेसका नेता रिजाललाई उनले प्रश्न गरे, ‘चुनाव मान्य हुने र अदालतको निर्णय पर्खने भए, हिजो राजाले गरेको चुनाव घोषणालाई किन नमानेको ।’

उनले असंवैधानिक कदम र संविधान मिचेर गरिएको निर्णयको सोझै विरोधमा उत्रनुको विकल्प नभएको कांग्रेसलाई सुझाव दिँदै लोक कल्याणकारी राज्य नभएसम्म प्रतिगामी कदम चलिरहने दाबी गरे।

यसअघि पालो आयो नेकपा मालेका महासचिव सिपी मैनालीको । मैनाली थिए कार्यक्रमका अन्तिम वक्ता । उनले आफ्नो भाषण अली लामो हुने भन्दै सुरुमै धैर्य गर्न आग्रह गरेका थिए । तर, उनको भाषण सुरु हुँदासम्म हल आधा खाली भइसकेको थियो। अगाडिको लाइनमा बसेका नेताका कुर्सी पनि खाली भइसकेका थिए ।

विवेकशील साझाका अध्यक्ष मिश्र पनि कार्यक्रम हलबाट बाहिरिसकेका थिए । तर, उनको चर्को आलोचना गरे मालेका महासचिव मैनालीले । उनले समाचार वाचकले राजनीति नबुझको आरोप समेत लगाए । राजनीति नबुझेको मान्छेले मात्रै मिश्रको जस्तो कुरा गर्ने उनको तर्क थियो ।

‘त्यो अघिको भाषण गर्ने बीबीसीको समाचार वाचक होइन ? राजनीति नै बुझेको रैनछ । समाचार वाचन गर्ने मान्छेले राजनीति कहाँ बुझ्न सक्छ र,’ उनले भने ।

कार्यक्रमको अध्यक्षता गर्दै अगाडिको लाइनको कुर्सीमा बसेका नेकपाका प्रवक्ता भाषण गरिरहेका मैनालीप्रति कड्किए । उनले मैनालीलाई रोक्दै भने, ‘यहाँ अरु नेताहरु हुनुहुन्छ । उहाँहरुको बारेमा भन्नुस् न । गैसकेको व्यक्तिको टिप्पणी किन गरेको ? किन मिश्रजी त गइसक्नु भो।’

त्यसपछि मैनालीले मिश्रको नाम नै लिएनन् र आफ्नो भाषण छोट्याए । उनले भाषण सकेर आएपछि माधव नेपालसामु गएर कानेखुसीमा लागे।

Comments
Loading...