Ultimate magazine theme for WordPress.

सुरेन्द्र पाण्डे एकाएक पोखरामा, नेपाल गुटसंग गोप्य भेटघाट

91

चितवनमा शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रम बिथोलिएको तरंग पोखरामा पनि आयो । कार्यक्रमकै बीच भएको नाराबाजीका पक्ष, विपक्षमा बाँडिएर अभिव्यक्ति आइरहेका उनै नेता पाण्डे आइतबार पोखरा आइपुगे । पोखरामा माधवकुमार नेपाल गुटका केही नेता, कार्यकर्ताको भेलामा सुटुक्क सहभागी बने । अहिलेको विवादको चुरो र अवस्थाबारे कार्यकर्ताबीच धारणा राखे ।

पोखरा लेकसाइडस्थित माउण्ट कैलाश होटलमा करिब ३५/४० जनाको उपस्थितिमा भएको भेलामा पाण्डेले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टीमा संकट उत्पन्न भएको बताए । नेकपाभित्रको अन्तरद्वन्द्व ओलीको अहम् र मैले भनेपछि जे पनि हुन्छ भन्ने भ्रमकै उपज भएको उनले बताएको भेलामा सहभागी एक नेताले सुनाए ।

पाण्डेले सजिलो प्रक्रियाबाट अहिले पार्टी विभाजन सम्भव नभएको बताएका थिए । ‘अहिले नेता, कार्यकर्ता, विद्यार्थी, युवा, मजदुरमा पार्टी विभाजन के होला भन्ने छ । अहिलेकै अवस्थामा सजिलो प्रक्रियाबाट पार्टी फुट्दैन,’ लेकसाइडस्थित भेलालाई सम्बोधन गर्दै पाण्डेले भने, ‘४० प्रतिशत केन्द्रीय सदस्य र ४० प्रतिशत सांसद नभएसम्म पार्टी फुट्दैन । यति ओलीसँग छैन । पार्टी फुटे ओलीले अध्यादेशमार्फत फुटाउने हो ।’

आफूहरु पार्टी एकताको पक्षमा रहेको पाण्डेको भनाइ छ । अहिलेकै अवस्थामा विभाजन नहुने र यदि विभाजन भयो भने ओलीले ल्याएको अध्यादेशमार्फत हुनसक्ने पाण्डेले बताए । सरकार ठिक ढंगले चल्नुपर्छ भन्दा ओली पार्टी फुटाउन उद्दत भएको पाण्डेको भनाइ छ ।

जनताको बहुदलीय जनवाद मान्ने कि नमान्ने विषयमा विवाद भएको धेरैलाई लाग्ने गरेको बताउँदै पाण्डेले त्यस्तो नभएको बताए । हिजो जबज मान्नेकै बीचमा झगडा र प्रतिस्पर्धा भएको बताउँदै अहिले त्यो बहसको विषय नै नभएको उनको भनाइ थियो

अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग ओलीको कुरा हुँदा सल्लाहले पार्टी फुटाउनुस् भनेको पाण्डेले कार्यकर्तालाई सुनाए । सल्लाहले पार्टी एकता गर्ने र सल्लाहमै पार्टी फुटाउने कुरा हुन नसक्ने उनको भनाइ थियो ।

‘कसैले बच्चा जन्माएपछि, होइन मन परेन भनेर पेटमा फर्काएर राख्छु भन्न मिल्छ,’ पाण्डेले भने, ‘पार्टीको पनि त विधि र प्रक्रिया हुन्छ होला नि ।’ पार्टीबाट निर्वाचित प्रधानमन्त्री गलत ढंगले चलेको बताउँदै पाण्डेले पार्टी विभाजन हुन प्रक्रियाले पनि नदिने भनाइ राखे ।

Comments
Loading...