Ultimate magazine theme for WordPress.

‘नेपाली जनता अभिभावकविहीन टुहुरा बनेकोमा पीडाबोध’ : पूर्व श्री ५

142

पहिलो अपडेट / ७ कार्तिक २०७७

पूर्व श्री ५ ज्ञानेन्द्र शाहले नेपाली भएर नेपाललाई चिन्न, नेपाल बुझ्न, नेपाली भएरै बाँच्न, नेपाल र नेपालीकै निम्ति सोच्न अनि नेपाली शैली अँगालेर उज्यालो बाटोतिर अघि बढ्न आग्रह गर्नुभएको छ । विजया दशमी २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै पूर्व श्री ५ ले यस्तो आग्रह गर्नुभएको हो ।

हाम्रो आहार–बिहार, आचार–विचार, विधि–व्यवहार, शासन–प्रशासन एवम् पद्दति–प्रणाली हाम्रै संस्कृतिअनुरुप हुनुपर्ने जिकिर गर्दै पूर्व श्री ५ ले हामी स्वस्थ, सुखी, शान्त, सुरक्षित र समृद्ध हुन उल्लिखित विशेषताले भूमिका निर्वाह गर्ने तर्क दिनुभएको छ । आपसी समन्वय र सहकार्यलाई छाडेर हामी व्यक्तिवाद या समूहवादतर्फ उन्मुख हुन्छौँ भने स्थिर, सुदृढ र सन्तोषजनक राष्ट्रिय परिणाम प्राप्त नहुने उहाँले प्रष्ट्याउनुभएको छ ।

आफ्नो ‘दशैँ–सन्देश’मा पूर्व श्री ५ ले भन्नुभएको छ– ‘विदेशमा गएर रोजगारीमा लागेकाहरू सङ्कटमा छन् भने देशभित्र उनीहरूको श्रम, सीप, र सामर्थ्यको सदुपयोग गर्ने कुनै बन्दोबस्त भइरहेको छैन । त्यसैले देश, समाज र परिवारको मोह–ममताले आएकाहरू पनि फेरि कामका लागि विदेशतिरै लर्को लागेको मार्मिक अवस्था देखिन्छ । राहत, रोजगार र रोगको उपचार खोज्दै भौँतारिएका जनसमूहलाई भरपर्दो आड–आधारको आवश्यकता महसुस गराउन सकिएको छैन । त्यसैगरी दैनिक जीवीकाको अत्यावश्यक बस्तुको मूल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रास जस्ता विषयले हाम्रो जनजीवन पिरोलिएको छ । अनि समाजमा अनेक आपराधिक गतिविधि र पिशाच प्रवृत्ति बढ्दो छ । यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ । त्यसैले आज सबैले बढ्दो आशुरी र भष्मासुरी प्रवृत्तिबाट उन्मुक्ति चाहिरहेका छन् ।’

सन्देशको आरम्भमा पूर्व श्री ५ ले भन्नुभएको छ– ‘विश्व मानव जगतले असहजता र कठिनाइको सामना गरिरहेको स्थितिमा नेपालीहरूको महान् चाड विजयादशमीको आगमन भएको छ । हर्षोल्लासका साथ विजयादशमी मनाउन सकिने अवस्था नरहे पनि हामी देशभित्र र देशबाहिर रहे–बुसेका समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछौँ ।’

वर्तमान विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आमजनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको तथ्यलाई पूर्व श्री ५ को सन्देशमा महत्वका साथ उठान गरिएको छ । जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने भन्दै सन्देशमा भनिएको छ– ‘सङ्कटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध यतिबेला हुँदैछ ।’

Comments
Loading...