Ultimate magazine theme for WordPress.

उपत्यकाका ६२४ सहित देशभर २१ सय प्रहरीलाई कोरोना संक्रमण

49

नेपाल प्रहरीका २ हजार १ सय बढीमा कोभिड–१९ देखिएको छ। गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकोमा गत साउनपछि भने संक्रमण दर ह्वात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्राप्त बिवरणअनुसार प्रहरीमा दुई हजार १६१ मा संक्रमितमध्ये ९५० जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले जानकारी दिए। काठमाडौँ उपत्यकाको तीन जिल्लामा सबैभन्दा बढी ६२४ जना संक्रमित भएका छन्। त्यसमध्ये ५५८ जना अझै उपचाररत छन्। प्रहरी प्रधान कार्यालयमा मात्रै ३८९ जना संक्रमित रहेको जनाइएको छ। त्यसमध्ये ३१८ जना उपचारपछि घर फर्किएका र ७१ को उपचार जारी छ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार प्रदेश १ मा ३४०, प्रदेश २ मा २५७, बाग्मती प्रदेशमा १००, गण्डकीमा १४३, प्रदेश ५ मा १९८, कर्णाली प्रदेशमा ७१ र सुदुरपश्चिम प्रदेशमा ३९ जनामा संक्रमण देखिएको छ। प्रहरी प्रवक्ता कडायतले संक्रमितमध्ये झण्डै आधा निको भएर काममा फर्किसकेको बताए। उनका अनुसार अहिले सबै उच्च मनोबलका साथ उपचार गराइरहेका छन्।

सबैको अवस्था सामान्य रहेको कडायतको भनाइ छ। सशस्त्र प्रहरी र नेपाली सेनासमेतमा पछिल्लो समयमा कोभिड–१९ संक्रमण बढिरहेको छ।

Comments
Loading...