Ultimate magazine theme for WordPress.

चैतेहरुका पक्षमा

– हरिप्रसाद भुसाल

325

केही दिनअघि पल्लो गाउँमा एक हुल युवाले पार्टी परिवर्तन गरे । आफ्ना मागहरु पार्टीले सम्वोधन नगरेको भन्दै लामो समयदेखीको पार्टी आवद्धता उनीहरुले भंग गरेका थिए । एकाएक आएको यो खवरले दुवै पार्टीमा तरंग सिर्जना भयो । नयाँ कार्यकर्ताहरु पाएको पार्टीले उत्सव मनायो, इमान्दार मान्छेहरु पार्टीमा आएको भन्दै विपक्षीको किल्ला भत्काएको घोषणा गर्यो । उता आफ्ना कार्यकर्ता गुमाएको पार्टीले अवसरवादीहरु पखालिएको दावी गर्दै कुचोले बढार्नुपर्ने फोहोर आफै साइड लागेको उद्घोष गर्यो ।

यो घटना परिघटनापछि राजनीतिक रुपमा कसलाई फाइदा वा कसलाई बेफाइदा भयो, त्यो सम्वन्धीत दलकै छलफल र चिन्ताको विषय बन्ला । तर समयसमयमा समाजमा भैरहने यस्ता गतिविधीहरुले समाजलाई फाइदा गर्छ की बेफाइदा ? देशलाई फाईदा गर्छ की नोक्सानी ? खासमा यो दल परिवर्तनको संस्कार कति उचित वा अनुचित हो ? यही विषयको पेरिफेरीमा रहेर यो आलेखमा केही चर्चा परिचर्चा गर्ने प्रयत्न गरिएको छ ।

निश्चयपनि जव निश्चित आग्रह वा अपेक्षाका साथ राजनीतिक दललाई सहयोग गरिन्छ, त्यो अपेक्षा पुरा नभएपछि मान्छेहरु दल परिवर्तनतिर लाग्ने गरेको देखिन्छ । वा जुन आश्वासन वा प्रतिवद्धताका साथ उनीहरुले उक्त पार्टीलाई साथ दिएका हुन्छन कालान्तरमा तिनै आशा र अपेक्षा, तिनै आश्वासन र प्रतिवद्धतामा धमिरा लागेपछि मान्छेहरु पार्टी परित्याग गर्छन । यसरी दल परित्याग गरी अर्कोमा प्रवेश गर्दा स्वाभाविक रुपमा एक पक्षलाई आफ्ना कमजोरी सच्याउने बाध्यता बन्छ भने अर्कोलाई थप जनताप्रति वफादार वन्न र जनताको सेवामा समर्पित वन्ने दायित्व थपिन्छ । त्यसकारण पनि दल परिवर्तनलाई स्वाभाविक रुपमा हेरिनुपर्छ । किनकी केही दलको लाािग मत परिवर्तन चर्चा र आलोचनाको विषय भएपनि यो परिघटनाले व्यक्ति, समाज अनि समग्र राष्ट्रलाई फाइदा नै पुर्याएको हुन्छ । यस अर्थमा दल परिवर्तन ÷ मत परिवर्तन देशको लागि हितकर र फाइदाजनक नै हुन्छ ।

देशको वर्तमान अवस्थाको विषयमा चर्चा र छलफल गर्दा हामी देश बन्न नसकेकोमा चिन्ता व्यक्त गछौं, देशमा अनियमितता, बेथिती र भ्रष्टाचार बढेकोमा गम्भिर हुन्छौं । अनि आजसम्म सत्ताको नेतृत्व गरेकाहरुको आलोचना गछौं, धारेहात लाउछौं अनि सराप्नु् सराप्छौं । तर उनीहरु निरन्तर सत्ता र शक्तीमा किन रहे ? किन पटक पटक असफल भएरपनि, पटक पटक कालो सूचीमा परेर पनि सत्ताको बागडोर उनीहरु सितै छ ? पटक पटक जनताको भावनामा कुल्चिएर पनि किन पटक पटक उनीहरु नै निर्वाचित भइरहेका छन् ? मन्थन गर्दैनौं । चिन्तित बन्दैनौं ।

चुनाव अघिसम्म तिनै नेताहरुलाई धारेहात लगाउछौं । दिनभर उनीहरुकै आलोचना गरेर दिन कटाउछौं । उसले नसुन्नेगरी पख्लास हेर्लास पनि भन्छौं तर जव चुनाव आउछ हामी हाम्रो बुवा, हजुरवुवाहरुलाई सम्झन्छौं । हजुरवुवाले जुन चिन्हमा भोट हाल्नुभाथ्यो त्यसको दायाँबायाँ गर्नु मात्र होइन, सोच्नु पनि अपराध हो भन्ठान्छौं । बुवाले समाउनुभएको हाँगो कति बलियो र आवश्यक छ भन्ने विचारै नगरी जतिसुकै कमजोर, अनावश्यक र अर्थहिन रहेपनि ड्याम्म त्यही चिन्हमा मत दिन्छौं । परिणामत हामीले धारेहात लगाएको, चोकमा बसेर आलोचना गरेको त्यही भ्रष्ट, कमिसनखोर, दलाले चुनाव जित्छ अनि हाम्रो छातीमा ब्रुकुसी मार्छ । मेरो पेशा केही छैन, नितान्त समाजसेवा (राजनीति) मात्र गर्छु भन्दै हिड्छ अनि जनतामारा लुटतन्त्र शुरु गर्छ । हामी निरन्तर यही नियतिमै गुज्रिइरहेका छौं ।

अर्कोतिर आशा, अपेक्षा, प्रतिवद्धता र आस्वासनमा धमिरा लागिसकेपछि पार्टी परिवर्तन गर्नेहरुलाई हामी चैते घोषणा गछौं । स्वार्थको लागि राजनीति गरेको, विकेर पार्टी परिवर्तन गरेको भन्दै घोक्रो सुक्नेगरी गाली गर्छाैं । यतीमात्र होइन, सामाजिक बहिष्कार समेत गर्न हामी पछि पर्दैनौं । के हामीले गरेको यही व्यवहार नै स्थाई सत्य हो त ? गम्भिर समिक्षा गर्ने कि नगर्ने ? यसर्थ आफुले अपेक्षा गरेको मान्छे वा दलबाट आस्वासन पुरा नभएपछि पार्टी परित्याग गरेको मान्छेका कारण देश विग्रिएको होइन, देश त तपाई हाम्रो कारण विग्रिएको हो, जसले खराव मान्छे हो भन्दाभन्दै पनि मत दिइरह्यौं, नसले खराव पार्टी हो भन्ने जान्दा जान्दै पनि हजुरबुवाले आफ्ना पालामा गरेको मत परिवर्तन गरेनौं । जसले निरन्तर देश लुट्नेहरुलाई मात्र जानिजानी मत दिइरह्यौं ।
यसर्थ म त साथ भन्छु, देश नसुध्रिएको तपाई हाम्रो बुझाईमा चेत नभएर हो । म दावीका साथ भन्छु, देशमा धेरै होइन, केही लाख चैतेहरु ( गलत ट्रयाकमा जाने नेता तथा दललाई परित्याग गरी मत परिवर्तन गर्नसक्न) हुँदा हुनत देश आजसम्म यही अवस्थामा रहने थिएन । तिनै चैतेहरुका कारण नेता अनि राजनीतिक दलहरुबाट गलत हर्कत हुने थिएनन । हामीले गलत गर्नासाथ चैतेहरुले पार्टी छोड्छन, चैतेहरुले साथ छोड्नासाथ चुनाव हारिन्छ भन्ने डरमा उनीहरुले गलत काम गर्ने थिएनन । फलत देशले केही न केही फड्को मारिरहेको हुने थियो ।

तर हामी तथाकथित इमान्दार बन्यौं । दल र मत परिवर्तन गर्नु अपराध हो भन्ने कुरा तिनै भ्रष्ट, कसिमसनखोर अनी दलालहरुले हामीलाई सिकाइरहे । फलस्वरुप खुलेआम भ्रष्टाचार, अनियमितता अनि राज्य दोहन गरिरहँदा पनि कथित इमान बचाउनका लागि उनीहरुलाई नै मत दिइरह्यौं । बेइमानी नगर्ने चाहनामा हरेक पटक देशलाई बेइमानी गरिरह्यौं । आफुले मत दिने नेता कस्तो, कुन प्रकृति अनि आचरणको, कुन स्तरको भन्ने हेर्दै नहेरी निरन्तर उसैलाई मत दिइरह्यौं । फलत इमान्दार, नैतिकवान र निष्ठावान हुनुपर्ने राजनीति लुटमार गर्ने अनि अथाह सम्पत्ती कमाउने सजिलो व्यवसाय वनिदियो । सत्ता र शक्तीमा पहुँच हुनेहरुले सिस्टम बनाएर देश अनि जनता लुट्ने, पहुँच नपाएकाहरुले भविश्यमा ठूलो नेता बनेर त्यसैगरी लुट्ने आशामा तिनैको गुलामी गर्दै मुख मिठ्याएर बस्ने संस्कार विकास भयो । जसका कारण देश सदावहार गरिव, सदावहार अविकसित अनि सदावहार कमजोर बनिरह्यो ।

यसर्थ देश नबन्नुको प्रमुख कारण चैते होइनन, तपाई हामी नै हो, जसले सधै झिक्रो समात्ने बाहेक केही काम गर्न सकेनौ. । तसर्थ गाली र आलोचना त्यही झिक्रो समातेर बसिरहेकाहरुलाई गरौं चैतेहरुलाई होइन । गलतलाई गलत ठान्ने अनि गलत नेता÷दललाई कुनैपनि बेला परिवर्तन गर्नसक्ने फराकिलो छाती भएकाहरुलाई खुला हृदयले स्वागत गरौं । खराव आचरण, खराव प्रवृती, खराव शैली अनि खराव व्यवहार भएका नेता÷पार्टीलाई तिरस्कार गरौं । सभ्य अनि सुसंस्कृत समाज निर्माणमा हातेमालो गरौं । धन्यवाद ।

केही प्रतिक्रियाको लागि हरिप्रसाद भुसाललाई सम्पर्क गर्न यहाँ क्लिक गर्नुहोला । www.facebook.com/harinepali45

Comments
Loading...