काठमाडौं : सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित वडा ६ मा पहिरो खस्दा चार घर पुरिएको छ।
आइतवार बिहान २ बजेतिर पहिरो खस्दा चार घर पुरिएको वडा ६ का अध्यक्ष रामकुमार थापाले जानकारी दिए।
पहिरोले सुनकोशी–६ धुसिनीका चार जनाको घर पुर्नुका साथै कैयौं खेतबारी भत्काएको वडाध्यक्ष थापाले बताए।
बिहीवार नै उक्त क्षेत्रमा पहिरोले चर्काएपछि गाउँपालिकाले स्थानीयलाई उक्त स्थान छाड्न निर्देशन दिएको थियो। पूर्वतयारिका कारण मानवीय क्षति भने नभएको वडाध्यक्ष थापाले बताए।
‘१० गते नै पहिरो देखिएको थियो। त्यसपछि हामीले डाँडामुनिका स्थानीयलाई सर्न भन्यौ। आज बिहान २ बजेतिर ठुलै पहिरो खसेर घर पुरिएछ,’ वडाध्यक्ष थापाले भने, ‘घर परिवार पहिल्यै सरेकाले मानवीय क्षति भएन।’
पहिरोले ५५ भन्दा बढी घर जोखिममा पारेको उनले बताए। ‘सुन्दरडाँडा माथि रहेको २३ वटा घर र धुसेनीका ३२ घर जोखिममा छ,’ थापाले भने। भूकम्पले चर्काएका कारण पहिरो गएको हुनसक्ने उनले बताए। पीडित परिवारलाई स्थान्तरण गर्न गाउँपालिका तयारीमा जुटेको उनले जनाए।