Ultimate magazine theme for WordPress.

काठमाण्डौबाट एकैदिन ७९ जना अर्घाखाँची भित्रिए, भूमिकास्थान नगरपालिकाले मात्रै क्वारेन्टाइनमा राख्यो

क्वारेन्टाइनमा बसेकाहरु भन्छन : सेवा सुविधा सन्तोषजनक छ

1,499

पहिलो अपडेट बैशाख १४, अर्घाखाँची

कोरोनाको संक्रमणको कारण जनतामा त्रास भैरहेका बेला काठमाण्डौबाट आजमात्रै ७९ जना अर्घाखाँची जिल्ला भित्रिएका छन् ।

आज अर्घाखाँची जिल्लाका ७५ र गुल्मी जिल्लाका ४ जना गरी ७९ जना अर्घाखाँची जिल्ला भित्रिएको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।

जिल्लाका विभिन्न स्थानीय तह सहित छिमेकी जिल्लाका नागरिकहरु जिल्ला भित्रिएकोमा भूमिकास्थान नगरपालिकाले दुई जनालाई आफुले तयार पारेको क्वारेन्टाइनमा राखेको छ ।

आफ्नो क्षेत्रभित्रका दुई जनालाई भुमिकास्थानले क्वारेन्टाइनमा राखेको भएपनि अन्य स्थानीय सरकारहरुले भने आफ्नो सेवा क्षेत्रका नागरीकहरुलाई घरघरमै छोडेका छन् ।

कोरोनाको संक्रमण बढिरहेका बेला जिल्ला बाहिरबाट आएका व्यक्तिलाई क्वारेन्टाइन राख्ने जिल्ला विपत व्यवस्थापन समितिको निर्णय विपरीत भूमिकास्थान नगरपालिका बाहेकका स्थानीय सरकारहरुले घरघरमा पुर्याएका हुन् । स्थानीय सरकारहरुको यो रवैयाबाट जिल्लामा संक्रमण फैलनसक्नेमा स्थानिय त्रसित वनेका छन् ।

क्वारेन्टाइनमा बसेकाहरु भन्छन : सेवा सुविधा सन्तोषजनक छ

जिल्लाबाहिरबाट आएकाहरुले क्वारेन्टाइन बस्न आनाकानी गरेको समाचारहरु आएको भएपनि क्वारेन्टाइनमा बसेकाहरुले भने स्थानीय सरकारले उपलव्ध गराएको सेवा सुविधाप्रति सन्तोष व्यक्त गरेका छन् ।

क्वारेन्टाईनमा खाना बस्नका साथै इन्टरनेटको राम्रो व्यवस्था रहेको भन्दै उनीहरुले परिवार तथा समुदायको सुरक्षाको लागि आफुहरु खुसीका साथ क्वारेन्टाइन बसीरहेको जानकारी दिएका छन् ।

आउनेहरु भन्छन क्वारेन्टाइन मन्जुर छ

जिल्लाबाहिरबाट आउनेहरुले क्वारेन्टाइनमा बस्न आनाकानी गरेपछि स्थानीय सरकारहरुले घरघरमा पठाएको समाचार आइरहेका बेला काठमाण्डौबाट आएकाहरुले भने स्थानीय सरकारको निर्णय बमोजिम क्वारेन्टाईन स्वीकार्य भएको बताएका छन् ।

आजमात्रै काठमाण्डौबाट आएका भूमिकास्थान नगरपालिकाका दुई जनाले हामीसंग कुरा गर्दै आफुहरु क्वारेन्टाइन बस्न तयार रहेको तर क्वारेन्टाइनको विषयमा भएको गलत प्रचारका कारण सकेसम्म घरै पग्न पाए हुन्थ्यो भन्ने लागेको बताए ।

“काठमाण्डौबाट दुखसुख गरी घरमा आइयो, सिधै घर जान पाए त घरमै क्वारेन्टाइन बसिन्थ्यो” उनीहरुले भने “तरपनि परिवार अनि समाजको लागि स्थानीय सरकारले बनाएको क्वारेन्टाइन बस्न तयार छौं ।”

Comments
Loading...