Ultimate magazine theme for WordPress.

नेकपाभित्र विवाद चर्कियो, सचिवालय बैठक बस्दै

143

काठमाडौ- आजको मन्त्रिपरिषदले दल विभाजन संवन्धी ऐनमा संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेपछि पूर्व माओवादी समूहका नेताहरुको खुमलटारमा छुट्टै भेला भएको छ भने केही बेरमा सचिवालय बैठक बोलाइएको छ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीका सबै मन्त्रीलाई आफ्नो निवास ललितपुरस्थित खुमलटार डाकेर छलफल गरेका हुन्। त्यसलगत्तै सचिवालय बैठक बस्न लागेको हो।

सचिवालय बैठक अहिले साढे पाँच बजेको लागि बोलाइएको र सरकारले ल्याएको अध्यादेशका विषयमा छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए।

यसअघि आफूलाई सत्ताबाट हट्नुपर्ने अवस्था आउन लागेको देखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा फुटाउन सजिलो हुने गरि मन्त्रिपरिषदबाट अध्यादेश पास गराएका थिए। उक्त अध्यादेश आजै राष्ट्रपतिबाट स्वीकृत गराउने तयारी गरिएको छ।

‘कुनै दलको केन्द्रीय समिति र सङ्घीय संसदका संसदीय दलका कम्तीमा चालीस प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरु समेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैनु, भन्ने राजनीतिक दलसम्बन्धी ऐेन-२०७३ को दफा ३३ ९२० को व्यवस्थामा संशोधन गरी संसदीय दल र केन्द्रीय समितिमध्ये कुनै एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने व्यवस्था गर्न लागिएको हो।

हालै विकसित घटनाक्रम अनुसार सभामुख निर्वाचन र वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा पार्टीभित्र प्रधानमन्त्री ओली र प्रचण्ड-नेपाल खेमाबीच चर्किँदै गएको मतभेद अहिले उत्कर्षमा पुग्न लागेको देखिन्छ।

नेकपाभित्र ओलीलाई हटाएर माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको जिम्मेवारी दिने कसरत भइरहेको खबर पछिल्लो समय सार्वजनिक भएको थियो।

प्रचण्ड-नेपाल एकातिर हुँदा पार्टीका सचिवालय, स्थायी कमिटी र केन्द्रीय समितिका साथै संसदीय दलमा पनि यही समूहको बहुमत पुग्छ। संसदीय दलका ४० प्रतिशतभन्दा माथि सदस्यको भने प्रधानमन्त्री ओलीलाई साथ छ।

त्यसैले संसदीय दलमा ४० प्रतिशत समर्थन भए नेकपा फुटाएर छुट्टै पार्टी गठन गर्न मिल्ने गरी अध्यादेश ल्याउन लागिएको नेकपाकै नेताहरु बताउँछन्।

अहिले बस्न लागेको नेकपा सचिवालयको बैठकपछि नेकपाभित्रको मतभेद थप चर्किने हो वा मत्थर पारिने हो त्यसपछि थाहा हुनेछ।

(हामीले यो समाचार नेपाल समय डटकमबाट साभार गरेका हौं । – सम्पादक)

Comments
Loading...