Ultimate magazine theme for WordPress.

गुल्मीमा गरिब परिबारमाथि नेकपाको राजनीतिः कांग्रेस भएकै कारण जस्तापाता पाएनन्

98

सुमन महतारा, गुल्मीः गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ सेउघा ठाँटीपोखराका बेल बहादुर खत्रीले आफु कांग्रेस भएकै कारण वडाले जस्तापाता नदिएको गुनासो गरेका छन् ।

नेपाल सरकारले स्थानीय तहसँग समन्वय गरी खरका छाना भएका गरिब परिवारलाई जस्तापाता दिएर खरको छाना मुक्त बनाउने भनेपनि सेउघा ठाँटीपोखराका खत्रीलाई यो कार्यक्रमले अझै छुन सकेको छैन ।

“लगातार तीन बर्ष सम्म जस्तापाताकै लागि वडा कार्यालय धाँए । पहिल्यै जस्तापाले छाएका छिमेकीले पनि फेरी जस्तापाता पाए तर मलाई अहिलेसम्म मिलेन ” खत्रीले भने । उनले थपे, “मलाई काङ्ग्रेस भएकै कारण जस्तापाता दिएनन् । खरले छाएको एक तले घरमा खत्रीका पाँच जनाको परिवार बस्दै आएको छु ।”

त्यति मात्रै होइन सेउघा कि बेली गौतमलाई पनि जस्तापाताको कार्यक्रमले अझै छुन सकेको छैन । उनी अहिले ८० बर्षकी भइन् । खरकै छानामुनी बेली गौतमका ४५ बर्ष बिते । उनी बारम्बार वडा कार्यालय धाउँदा पनि कसैले आफ्नो गुनासो नसुनिदिएको बताउँछिन् । गौतमले आफु वडाकार्यालमा जाँदा वडाध्यक्षले उल्टै गाली गरेर पठाएको गुनासो गरिन् ।

गाैतमले आफुलाई कहाँ बस्छेस् , तँ बस्ने खोलामा हो र , तँ हाम्रो मान्छे हैन , तँलाई कसरी जस्तापाता दिउँ भनेर गाली समेत गरेको हामीसँग गुनासो पोखिन् । पानी आउँदा नछेक्ने खरले छाएको घरमा बसेकी ८० बर्षिया गौतमले आफुमाथि राजनिति भएको भन्दै आफु काङ्ग्रेस भएकै कारण जस्तापाता नपाएको गुनासो गरिन् ।

अझ अचम्मको करा के छ भने पहिल्यै जस्तापाताले नै छाएको घरमा पनि वडाले फेरि जस्तापाता दिएको छ । वडाध्यक्ष बिजय मरासिनीले आफुलाई निर्वाचनमा सहयोग गरेको भन्दै मनपरी हिसाबले सिफारिस विना नै जस्तापाताको दुरुपयोग गरेको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ का छाया सरकार प्रमुख लिलाधर आचार्यले बताएका छन् ।

वडाध्यक्ष मरासिनीले आफ्नो पाटीको मान्छे भन्दै बेल बहादुर खत्रीका छिमेकी तेज बहादुर खत्रीलाई जस्तापाता दिएका हुन् । तेज बहादुरको त्यसभन्दा अघि पनि घर जस्तापाताले नै छाएको थियो । यति मात्रै ४ नम्बरका वडाध्यक्ष मरासिनीले मनपरी हिसाबका २ नम्बरका नागरिकलाई समेत जस्तापाता दिएका छन् । नातावादको पछाडी लागेर आफ्नो वडाका नागरिक दुखी हुदाँहुदै अर्को वडाका नागरिक खुसी पार्न खोज्नु दुखद् बिषय रहेको छाया सरकार प्रमुख आचार्यले बताएका छन् । यसभन्दा अघि ४ नम्बरका नागरिकलाई खानेपानी अपुग हुदाँहुदै पानी अन्यत्रै बेचेको आरोप लागेका वडाध्यक्ष मरासिनीले भने आफु सधै जनताको पक्षमा रहेर काम गरेको र गर्ने बताए । विकासमा राजनिति कहिल्यै नगरेको बताउँदै उनले आफुमाथि झुटो आरोप लागेको बताए ।

बेल बहादुर खत्री र बेली गौतमले जस्तापाता नपाएको प्रसङ्गमा आफ्नो केही कमजोरी भएको स्विकार गर्दे अबदेखी यस्तो नहुने र उनीहरुलाई तत्काल जस्तापाता दिने वडाध्यक्ष बिजय मरासिनीले बताएका छन् ।

( याे समाचार हामिले समयहव डटकमबाट साभार गरेका हाैँ । – सम्पादक )

Comments
Loading...