Ultimate magazine theme for WordPress.

बलात्कार मुद्दा मिलाउछु भन्दै यसरी ठगे काँग्रेस नेताले

243

 

२२ फागुन, विराटनगर । अदालतमा विचाराधीन बलात्कार मुद्दा मिलाउछु भन्दै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका एक नेताले ठगी गरेको आरोप लागेको छ ।

रंगेली नगरपालिका– ३ घर भएका नेपाल विद्यार्थी संघ मोरङका निवर्तमान सभापति गोपाल सेढाईमाथि ७ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोप लागेको हो ।

आरोपपछि सेढाई फरार रहेका छन् । उनका सहयोगी श्रीमन मरण्डीलाई प्रहरीले पक्राउ गरेको छ । मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले सेढाईंविरुद्ध ठगीको उजुरी परेको र उनको खोजी भइरहेको बताए ।

स्नातकोत्तर क्याम्पस विराटनगरको पूर्व स्ववियू सभापति समेत रहेका सेढाईले जवरजस्ती करणी मुद्दा मिलाउन रकम लिएको भन्दै प्रहरीमा किटानी जाहेरी परेको हो ।

धनपालथान गाउँपालिकाकी १५ वर्षीया किशोरीमाथि १५ जेठ २०७५ राति बलात्कार गरेको आरोपमा रंगेली ३ का सोरेन भन्ने सुरेन्द्र मरन्डी, सोही ठाउँका तल्लु मर्मु, प्रगान सतार, सोमलाल हेमरम, सुनिल मरन्डी र सुरेन्द्र टुडुविरुद्ध मुद्दा दायर भएको थियो ।

विवाहमा जन्ती आएकी किशोरीलाई करणी गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत मोरङले जबरजस्ती करणी प्रयास मुद्दामा जनही तीन वर्ष ६ महिनाको कैद सजायको फैसला सुनाएको छ । अदालतको फैसलापछि सेढाई र मरण्डीबाट ठगिएको दाबी गर्दै थुनामा रहेकाहरुको आफन्तले किटानी जाहेरी दिएका हुन् ।

रंगेली नगरपालिका – ३ मा कृषि फर्म सञ्चालन गरिरहेका सेढाईले सामूहिक बलात्कार मुद्दाका आरोपीलाई छुटाउन भन्दै एक लाख ५० हजारका दरले पैसा मागेका थिए ।

छोरा छुट्ने आशामा सोम मरण्डी र बाबुलाल हस्दाले जनही १ लाख ४० हजार, बिक्रम टुडुले १ लाख ६० हजार, साइला मरण्डीले १ लाख ६० हजार,सोम मुर्मूले एक लाख २५ हजार गरी जम्मा ७ लाख २५ हजार रुपैयाँ बुझाएका थिए ।

पैसा बुझाउने अभिभावकका अनुसार सेढाईंले पैसा दिएको विषय कसैलाई नसुनाउन भनेका थिए । तर २७ पुसको फैसला र १० माघमा आएको पूर्ण पाठले अभियुक्तलाई ३ वर्ष ६ महिना कैद हुने ठहर गरेको थियो ।

बिचौलियाको काम गरेका सेढाईले जरवजस्ती करणी मुद्दामा २० वर्ष सजाय हुनेलाई आफूले पहल गरी साढे तीन वर्ष बनाएको बताएका अभियुक्तका आफन्तले बताएका छन् ।
करणी मुद्दामा आफन्त पक्राउ परेपछि १० प्रतिशत व्याजमा ऋण खोजेर बुझाएकाहरुले ठगिएको दाबी गरेका छन् ।

जिल्ला अदालत मोरङले ठगी मुद्दामा पक्राउ परेका श्रीमनलाई अनुसन्धानका लागि ५ दिनको म्याद दिएको छ । सेढाईलाई पक्राउका लागि पूर्जी जारी गरेको छ ।

( याे समाचार हामीले अनलाइन खवर डटकमबाट साभार गरेका हाै । – सम्पादक )

Comments
Loading...