Ultimate magazine theme for WordPress.

कोरोना संक्रमणबाट बच्‍ने सन्देश, जर्मन चान्‍सलर र गृहमन्त्रीले हात मिलाएनन्

181

बर्लिन — जर्मनीको राजधानी बर्लिनमा आप्रवासनबारे छलफल गर्न बैठक आयोजना गरिएको थियो । सोमबारको बैठकका लागि सहभागीहरू सबै आइपुगेका थिए । जर्मन चान्सलर एन्जेला मर्केल बैठक कक्षमा प्रवेश गरेलगत्तै उनले गृहमन्त्री हर्स्ट सिहोफरसँग हात मिलाउन खोजिन्, तर सिहोफरले हात मिलाउन अस्वीकार गरे ।

गृहमन्त्रीले चान्सलरसँग हात मिलाउन नमानेपछि एकछिन् बैठक कक्षमा हाँसो चल्यो । मर्केल पनि मुस्कुराइन् र हात मिलाउन नखोज्नु अत्यन्तै राम्रो भएको प्रतिक्रिया दिइन् ।सिहोफरले चान्सलरसँग रिसाएर वा असन्तुष्टि पोख्न हात नमिलाएका भने होइनन् । उनले त विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न हात मिलाउन अस्वीकार गरेका थिए । बैठकअघि नै गृहमन्त्री सिहोफरले कोभिड–१९ को प्रकोपसँगै आफूले हात मिलाउन छोडेको पत्रकारसमक्ष बताएका थिए ।

उनको यस कदमलाई चान्सलर मर्केलले पनि मुस्कानसहित समर्थन गरेकी छन् । आइतबार मात्रै मर्केलले पनि आफ्नो निर्वाचन क्षेत्रको एउटा कार्यक्रममा हात नमिलाउन आग्रह गरेकी थिइन् । जर्मन चान्सलर र गृहमन्त्रीबीचको यो दृश्य एउटा प्रतिनिधि घटना भए पनि विश्वका कैयौं देशले अभिवादन गर्दा हात नमिलाउन आफ्ना नागरिकलाई आग्रह गरिसकेका छन् । युरोपेली राष्ट्र फ्रान्सले केही दिनअघि मात्रै हात नमिलाउन चेतावनी जारी गरेको थियो । जर्मनीले सार्वजनिक रूपमै यस्तो निर्णय नगरे पनि सोमबारको घटनाले जर्मन नागरिकलाई ठूलो सन्देश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

कोरोनाबारे जानकारी लुकाएको भन्दै दक्षिण कोरियामा धार्मिक नेतृत्वविरुद्ध मुद्दा
चीनको वुहानबाट फैलिएको कोभिड–१९ को संक्रमणको त्रास विश्वभर छ । हालसम्म ३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या ९० हजार नाघेको छ । संक्रमणका आधारमा चीनपछि सबैभन्दा प्रभावित दक्षिण कोरियामा कोभिड–१९ फैलाएको आरोपमा सोमबार सिनचोनजी चर्चका नेतृत्वविरुद्ध हत्या अभियोगमा मुद्दा दायर भएको छ ।

‘सिनचोनजी चर्च अफ जेजस’ का केही सदस्यले जनवरीमा चीनको वुहान भ्रमण गरेको र त्यहाँबाट संक्रमण ल्याएको भन्दै हत्या अभियोगमा मुद्दा दर्ता भएको हो । चर्च रहेकै थेगु सहरबाट दक्षिण कोरियामा कोभिड–१९ संक्रमण फैलिएको थियो । संक्रमणबारे बेलैमा जानकारी नगराएको भन्दै सोल सरकारले चर्च नेतृत्वविरुद्ध हत्या अभियोगमा अनुसन्धानको माग गर्दै मुद्दा दायर गरेको सोलका मेयर पार्क वन–सुनले बताए । चर्च स्थापक ली मान–ही र अन्य नेताले सरकारलाई सहयोग गरेको भए मृतकको जीवन बचाउन सकिन्थ्यो भन्दै उनले १२ जनाविरुद्ध रोग नियन्त्रण ऐन उल्लंघनको अभियोग लगाइएको बताएका छन् ।

चर्चका स्थापक लीले सोमबारै आफ्ना एक सदस्यका कारण धेरै जनामा संक्रमण फैलिएको भन्दै सार्वजनिक माफी मागेका थिए । कोभिड–१९ बाट कोरियामा ४ हजार ८ सय १२ जना संक्रमित भएका छन् भने ३४ जनाको मृत्यु भएको छ ।
प्रकाशित : फाल्गुन २०, २०७६ ०८:४८

Comments
Loading...