Ultimate magazine theme for WordPress.

रोग निको हुन्छ भनेर क्रिश्चियन भएँ : काँग्रेस साँसद परियार

1,835

नयाँ संरचना अनुसार देशमा नयाँ संविधान आइसक्यो । धर्मनिरपेक्षता, संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान हामीले पाएका छाँै । तर अझै हाम्रो देशमा ‘धर्मनिरपेक्षता’ छ कि छैन भन्ने खालको द्विविधा छ । ‘धर्मनिरपेक्षता’ भनेकै के हो भन्ने बुझाइ पनि छैन ।

मेरै पार्टी नेपाली काँग्रेसमा कोही धर्मनिरपेक्षतालाई हटाएर धार्मिक स्वतन्त्रका कुरा राख्नुपर्ने भन्ने छन् भने कोही हिन्दु राष्ट्र नै बनाउनुपर्छ भनेर हस्ताक्षर संकलन गर्ने छन् । यसले हिन्दु धर्म मान्नेलाई राम्रै गर्ला तर विभिन्न किसिमका धर्म मान्नेहरुका लागि ठूलो समस्या सिर्जना गर्ने छ । संविधानमा धर्मनिरपेक्ष राष्ट्र भनेर लेखिसकेपछि यसमा लड्ने टेक्ने ठाउँहरु छन् । म आफैँ क्रिस्चियन धर्म मान्छु । लगभग २३ वर्ष भयो म क्रिस्चियन भएको ।

एसएलसी दिनलाई २ वर्ष बाँकी थियो । एसएलसीमा राम्रो नम्बर ल्याउनका लागि हलेसी मन्दिर गएर पूजा गर्नुपर्छ भनेर मलाई भनिएको थियो । किनभने मेरा बाबाआमा पनि हिन्दुसंस्कारबाट आउनुभएको हो । माग्नका लागि मन्दिर जानुपर्छ भनेर मेरा बाबाआमाले मलाई सिकाउनु भएको थियो । तर मैले आफ्नो जात भनेर मन्दिरमा पूजा गर्न पाउने अवस्था थिएन । त्यसपछि किन यस्तो भयो भनेर खोज्न थालेँ ।

२०४८ सालको कुरा हो, देशमा प्रजातन्त्र आइसके पनि धर्मको बारेमा खुल्लमखुला कुरा गर्न सक्ने अवस्था थिएन । तर लुकिछिपी मान्छेहरु कुनकुनै ठाउँमा क्रिष्चियन धर्मको बारेमा प्रसारप्रचार गरेको पाइन्थ्यो ।

१४ वर्षको उमेरमा मैले धर्म परिर्वतन गरेको हो । जातीय विभेदका कारण मैले धर्म परिर्वतन गरेँ तर मानिसहरु ‘डलरवादीले धर्म परिर्वतन गरे’ भन्छन् । यदाकदा त्यस्तो भएको होला । धर्म प्रचारकहरुले, पास्टरहरुले केही गरे होलान् । मैले देखेका धेरै स्थानमा धर्म र आस्था परिर्वतन गरेर उनीहरु रमाइरहेका थिए ।

एक दिन म निकै सारो बिरामी भएँ । डाक्टरले पनि मलाई फर्कादियो । क्रिस्चियन बनेपछि निको हुन्छ भनेर कसैकसैले आमा बाबालाई भनिदिएछन् । बाबाआमाले आफुले धर्म परिर्वतन नगर्ने तर छोरीलाई चाहिँ धर्म परिवर्तन गराइदिने निर्णय लिए । निको हुन्छ भने छोरी क्रिस्चियन भए पनि होस् भनेर उहाँहरुले मलाई जिम्मा लगाइदिनुभयो ।

सुरुमा मैले दुईवटा कुराबाट जोडेँ, एउटा बिरामी निको हुन्छ भन्ने र अर्को जातीय विभेद त्यहाँ थिएन । विशेष गरेर दलित समुदायले हिन्दु धर्म नै मान्छन् । हिन्दु धर्मको आस्था भनेको मन्दिरमा गएर पूजा गर्ने हो । तर दलित समुदायका कोही पनि मन्दिर पस्न पाउँदैनन् । आस्था लिएर मन्दिर जान नपाउने, अनि हामीले मागेको के पुरा हुन्छ ?

यो खालको सोचाइबाट अभिप्रेरित भएर धर्म परिवर्तन गरियो । विवाह भतेरदेखि लिएर सबै कुरामा सालाखाला बसेर खान पाइने, क्षेत्री–बाहुन जसको घर भए पनि भित्र पसेर आउजाउ गर्न मिल्ने भनिसकेपछि मेरो लागि ठूलो पुण्य प्राप्त भयो त्यहाँ ।

जात व्यवस्थासँग धर्म जोडियो । दलित समुदायमा जन्मेको कारण ठूलाबडाको घरको आँगन पनि टेक्न नपाउने हाम्रो समुदायले अर्को धर्ममा सँगसँगै बसेर खान पनि पाउने, एकै ठाउँमा बसेर पूजापाठ गर्न पाउने भइसकेपछि म धर्म परिवर्तन गर्न आकर्षित भएकी हुँ ।

दलित समुदायका थुप्रै मानिस धर्म परिर्वतन गरेर क्रिस्चियन भएका छन् । कतिपय दलितले बुद्ध धर्म पनि मानेका छन् । वुद्ध धर्ममा पनि त्यति ठूलो जातीय विभेद हुँदैन ।

धर्मनिरपेक्षता राष्ट्र घोषणा गरिसकेपछि यसलाई टिकाएर लैजाने अवस्था छ कि छैन भन्ने मुख्य कुरा हो । सबै नागरिकले स्वतन्त्रसँग आफ्नो धर्म मान्न पाउनु पर्छ । हामीले देखेका छौँ, जहाँ अल्पसङ्ख्यक छन्, त्यहाँ वहुसङ्ख्यकहरुले थिचोमिचो गरेका हुन्छन् । हिन्दु संस्कार र हिन्दु धर्मका लागि मन्दिरहरु बनाउन सरकारले जति प्राथमिकता दिन्छ, त्यति नै प्राथमिकता अरु धर्मलाई दिन्छजस्तो मलाई लाग्दैन ।

त्यसैले धर्म भनेको राज्यको होस् । सबै धर्म मान्ने भएपछि मन्दिर बनाउने कुरामा उनीहरुले नै बनाउन सकुन् । चर्च क्रिस्चियनहरुले नै बनाउन सकुन्, बौद्ध धर्मावलम्बीहरुले आफै गुम्बा बनाउन सकुन् । अहिले एउटालाई काखा, अर्कोलाई पाखा गरेको अवस्था छ, त्यसैले धर्मनिरपेक्षताको अनुभूति गर्न सकेका छैनौँ ।

संविधानको धारा २४ मा जातीय छुवाछुन गर्न पाइदैँन भनिएको छ । दलितको हक भनेर धारा ४० मा लेखियो । तर एक हप्ता अघि पाँचथरमा अन्तरजातीय विवाह गरेका कारणले एउटा १९ वर्षीया बहिनीको पेटमा रहेको भ्रुण वडा अध्यक्षको दबाबमा हत्या गरियो । अन्तरजातीय विवाह गरेका काभ्रेका अजित मिजारको शव ४ वर्षदेखि टिचिङ अस्पतालमै छ । जातीय भेदभावलाई हामीले सामाजिक अपराधको रुपमा स्थापित ग¥यौँ अनि संविधानमा लेख्यौँ तर कार्यान्वय हुन सकेको छैन । कानुन बनेको छ । तर, कानुनले मात्रै नहुने रहेछ । हाम्रो दिमागी संरचना कता जाँदै छ ? हाम्रो दिमाग कस्तो छ भन्ने कुरा चाहिँ मुख्य हो ।

हामी जुनसुकै पार्टीमा भए पनि, सरकार जसको भए पनि ब्राम्हणवादी सोचबाट हामी अगाडि बढिरहेका छौँ । यसले समान अधिकार नदिने रहेछ । समानताको हक, समानरुपमा बाँच्न पाउने र समानरुपमा अभिव्यक्ति दिन पाउने हकलाई अझै थिचोमिचो हुँदैछ ।

२०६२/०६३ को आन्दोलनमा नागरिकहरु उत्रिएका थिए । धर्मनिरपेक्षता कुनै पार्टीले मात्रै दिएर आएको कुरा होइन । सबै खालका व्यक्ति, सबै खालको धर्म मान्ने व्यक्तिहरुको मागअनुसार धर्मनिरपेक्षता स्थापित गर्न सकेका हौँ । यसलाई कसरी कार्यान्वय गरेर जाने भन्ने कुरामा पनि सबैले त्यसै गरी सहकार्य गर्न जरुरी छ ।

मार्टिन चौतारीले बिहिबार काठमाडौँमा आयोजना गरेको ‘धर्मनिरपेक्षता र जात व्यवस्थाको सम्बन्धमा’ विषयक अन्तरक्रियामा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद लक्ष्मी परियारले व्यक्त गरेको विचार हामीले रातोपाटी डटकमबाट साभार गरेका हौं । – सम्पादक

Comments
Loading...