Ultimate magazine theme for WordPress.

‘मुखियाको नाती’ बजारमा

314

अर्जुन भुसाल
काठमाडौँ ५ माघ (रासस)
सुखी थियो खुसी थियो मुखियाको नाती,
गाउँ घरमा इज्जत थियो सबै भन्दा माथी
मुखियाको नाती भन्दै सब्ले ठोक्थे सलाम
हिजो हिरा थियो बरै आज भयो फलाम

नखेल जुवा र तास, धनको नास जीवनको बनीबास

समाजमा जुवा तासको कुलतले धेरैको उठीबास लागेको पाउन सकिन्छ । पैसा जित्ने लोभमा तासको लतमा फसेपछि मानिसहरु सहजै उम्कन सक्दैनन् । कोहि जितेर मालमाल हुन्छन् त कोहि घरबासै नरहने गरि पछारिन्छन् । तास खेल्नेहरु धन सकिएपछि सम्पत्तिलाई समेत खालमा राख्न पछि पर्दैनन् । जुवा तासकै कारण धन रित्याउँछन्, सम्पत्ति सिध्याउँछन् । सबै सकिएपछि कतिपयले मानसिक सुन्तुलन गुमाउँछन् वा डिप्रेसनको शिकार बन्न पुग्छन् । चरम तनावका कारण कोहि आत्महत्या गर्ने मनस्थितिमा समेत पुग्ने गर्छन ।

जुवा तासले सिर्जित गरेको कहाली लाग्दो परिस्थितिलाई कलाकार नकुल ढकालले ‘मुखियाको नाती’ बोलको गीत मार्फत उजागर गर्नुभएको छ । मुखियाको नाती जुवा,तासको लतमा फसेपछि भएभरको सम्पत्ति सक्छन् । अन्मिममा श्रीमतीलाई पनि तासको खालमा थाप्छन् र श्रीमति पनि गुमाउन पुग्छन् ।त्यसपछि उनले मानसिक सन्तुलन गुमाउँछन्, बेबारिसे हुन्छन्, बाउआमा उनैको पिरले स्वर्गबास हुन्छन् । पसलमा पाउरोटी चोरर भाग्दै गर्दा उनलाई गाडीले ढक्कर दिन्छ , मुखियाको नातीको मृत्यु हुन्छ ।

गीतमा चर्चित गायक तथा सङ्गीतकार बसन्त थापा, नकुल ढकाल र अृमत विश्वकर्माले स्वर दिनुभएको छ । शव्द नकुल आफैले लेख्नु भएको छ भने लय धुव्र जिसीले सिर्जना गर्नुभएको छ । नकुलले नै मुखियाको नातीको भूमिकामा अभिनय गर्नु भएको छ । मुखियाको नातीको जुवादैनिकी र जुवाले रित्तिएपछिको पीडादायी अवस्थाको बारेमा गाइनेको रुपमा चौतारोमा बसेर सुरवीर पण्डितले बेलीविस्तार गर्नुहुन्छ ।

भिडियोमा दिपा पौडेल, रवि कार्की, अमित विश्वकर्मा, खेम केसी, माया गिरी, बुद्धि खनाल, राजु कुमालले समेत अभिनय गर्नु भएको छ । गीतको संङ्गीत संयोजन र निर्देशन तारानाथ आचार्यले गर्नु भएको छ । डिजिटल स्टार रेकर्डिङले गीतलाई बजारमा ल्याएको छ ।

नखेल जुवा र तास धनको नास जीवनको बनीबास यो बर्षौ पहिलेदेखि सुन्दै आएको भाका हो । यसको सिर्जना पदम लक्ष्मी श्रेष्ठ, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, गणेश रसिक, र हिरण्य भोजपुरेले गर्नु भएको थियो । पुरानो भाकाको केहि अंशमा नयाँ भाका र शव्द थपेर गीतलाई नयाँपन दिइएको छ । गीत मर्मस्पर्शी बनाइएको छ ।

प्राय माया, प्रेम र पञ्चेवाजाका गीत गाउने थापाले समाजलाई चेतना प्रदान गर्ने सन्देशमूलक गीत गाउन पाउँदा खुसी लागेको बताउनुभयो । आफैले सङ्गीत गरेर गीत गाउने थापाले यसपटक अरुको सङ्गीतमा गीत गाउनु भएको छ । “समाजमा विकृति विसङ्गतीको रुपमा रहेको जुवा तासको अन्त्य गरि सभ्य समाज निर्माण गर्ने गीतको उद्देश्य हो” थापा भन्नुहुन्छ, “ नयाँ कथावस्तुमा आधारित रहेकाले यो गीत धेरैको रोजाइ बन्ने विश्वास लिएका छौँ ।”

Comments
Loading...