काठमाडौँः प्रदेश ३ को राजधानी हेटौँडा कायम भएको छ। आइतबार प्रदेशसभामा भएको मतदानमा दुई तिहाई मतसहित हेटौँडा राजधानी कायम भएको हो।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडालाई राजधानी कायम गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। प्रस्तावमा मत विभाजन हुँदा हेटौँडाको पक्षमा दुई तिहाई पुगेको हो।
प्रस्तावको पक्षमा १०५ मत र विपक्षमा ३ मत परेको छ। प्रदेशसभामा कायम ११० सदस्यमध्ये मतदानमा १०८ जना सहभागी थिए।
पक्षमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा), नेपाली कांग्रसको समर्थन थियो।
प्रस्तावको विपक्षमा विवेकशील र साझा पार्टी मात्रै उभिए । विवेकशीलले काभ्रेलाई राजधानी बनाइयोस् भन्ने प्रस्ताव सभामा पेश गरेका थिए। प्रस्ताव दुई तिहाइले अस्वीकृत भयो।
प्रदेशसभा गठन भएको दुई वर्षपछि स्थायी राजधानी तोकिएको हो। अब प्रदेश १, २ र ५ ले स्थायी राजधानी र नाम टुंगो लगाउन बाँकी छ।