हिजो अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट बुटवलका लागी छुटेको बस दुर्घटना भई १९ जनाको ज्यान गएको घटनाले अर्घाखाँची शोकमग्न भएको छ ।
विभत्स घटनाले ठूलो संख्यामा ज्यान गुमाउनुपर्दा सिंगे जिल्ला नै आज ठप्प छ । सन्धिखर्क बजार तथा मुख्य मुख्य बजारहरु बन्द गरिएका छन् भने शैक्षिक संस्थाहरु समेत स्वाभाविक बन्द भएका छन् ।
जिल्लामा क्रियाशिल चेम्वर अफ कमर्स लगायतका संघ संस्थाहरुले विज्ञप्ती नै जारी गरेर दुख व्यक्त गर्दै बजार बन्द गर्न आह्वान गरेको छ । “१९ जनाको ज्यान जानेगरी भएको विभत्स दुर्घटनाले जिल्लालाई शोक स्तव्ध बनाएको यस क्षेणमा हामी सम्पूर्ण व्यवसायीहरुलाई बजार बन्द गरी उद्धार, सहयोग एवं उपचारमा सक्रिय रहन अनुरोध गर्न चाहन्छौं ।” चेम्वरका जिल्ला प्रवक्ता हरीप्रसाद भुसालद्वारा जारी विज्ञप्तीमा “आगामी दिनमा यस्ता प्रकृतिका घटनाहरु न्यूनिकरणको लागि बिशेष भूमिकाका लागि हामी सरोकारवाला निकायहरुमा अपिल” समेत गरिएको छ ।
यस्तै जिल्लाबाट प्रतिनिधी सभा, राष्टिय सभा तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद तथा जनप्रतिनिधीहरुले समेत दुख व्यक्त गर्दै उद्धार तथा उपचारमा खट्न सम्वद्ध सवैमा अनुरोध गरेका छन् ।
यता, अर्घाखाँची उद्योग बाणिज्य संघले समेत आज १२ बजेसम्म बजार बन्द गर्न आह्वान गर्दै बजारक्षेत्रमा माइकिङ्ग गरेको छ ।